मधेशी मोर्चाका नेताबीच खुलेर कुरा हुँदैन: रामेश्वर राय यादव,वरिष्ठ उपाध्यक्ष,मजफो नेपाल (लोकतान्त्रिक)
64x64

तपाईका पार्टीका अध्यक्ष विजयकुमार गच्छदार मोर्चाका नेताप्रति असन्तुष्ट हुनुहुन्छ किन ?
–संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा बनाएकै उहाँले हो । उहाँकै अग्रसरतामा मधेशी मोर्चा गठन भएको हो भने मोर्चाबाट अलग हुने वा असन्तुष्ट कुरै आउँदैन । तर, जुन विचारबाट जुन विश्लेषनात्मक ढंगबाट योजनबद्ध तरिकाले अगाडि बढ्नुपर्ने हो मोर्चाले त्यो गर्न सकेको छैन । नेताहरुले एक अर्काको टिका टिप्पणीमै समय बिताएका हुन्छन् । मोर्चाकै तर्फबाट कुनै नेता अगाडि बढ्न चाहेका हुन्छन् भने त्यसको टिका टिप्पणी शुरु हुन्छ । सायद हाम्रो पार्टी अध्यक्ष पनि त्यही कुराको इकिंत गर्नु भएको होला ।
कस्तो प्रकारको टिका टिप्पणी हुन्छ ?
–प्राय जसो बैठकमा हाम्रो पार्टीका अध्यक्ष विजयकुमार गच्छदारको टिका टिप्पणी बढी हुन्छ । हाम्रा पार्टीका अध्यक्षले राजनीतिमा लिइरहेको अग्रसरता कारण धेरैलाई चित्त नबुझेको होला वा डाह भएको होला त्यस कारणले विभिन्न टिका टिप्पणी हुन्छ । विचार विमर्शका लागि कुनै नेतालाई भेट्नु गलत होइन । कुनै दलका नेताले विजय कुमार गच्छदारलाई भेट्नका लागि बोलाउँछन् भने त्यसमा उहाँको के गल्ती छ । कुनै बैठकमा विजयकुमार गच्छदारलाई बोलाउँछ भने त्यसमा उहाँको के गल्ती छ ? यदि हाम्रा पार्टीका अध्यक्ष विजय कुमार गच्छदारलाई सरकारमा जाने इच्छा भई दिएको भए कसले रोक्न सक्थ्यो ? तर बारम्बार सरकारमा जाँदैछन्, काँग्रेससँग मिल्यो, एमालेसँग मिल्यो । फलानो बैठकमा जानु हुँदैन्थ्यो, फलानोलाई भेट्नु हुँदैन्थ्यो आदि इत्यादि विषयलाई लिएर टिका टिप्पणी भएको हुन्छ ।
को को हुन् त्यसरी टिका टिप्पणी गर्नेहरु ?
–यहाँ नाम नलिउँ र यस विषयलाई हामी त्यति चर्चामा पनि ल्याउन चाहेका छैनौ । एक ढिक्का भएर अगाडि बढ्न चाहेका छौ । अहिले आन्दोलनको कुराहरु छन् । अधिकारका लागि लडाईका कुरा छन् । त्यसका लागि एकअर्कालाई सहयोग गर्नुपर्ने अवश्यकता छन् ।
यस्तो किन गरेको हो जस्तो लाग्छ तपाईंलाई ?
–म कारणतिर जान्न चाहन्न तर मैले के अनुभव गरेको छु भने मोर्चाका नेताहरु बीच खुलेर कुरा हुँदैन । कुनै पनि विषयमा नेताहरुले एक अर्कासँग खुलेर कुरा गर्दैनन् त्यस कारणले मनको मैला हटाउनका लागि एक अर्काको टिका टिप्पणी गरिरहेका हुन्छन् ।
खुलेर कुरा नहुनुको कारण ?
मधेशीहरुमा सकारात्मकभन्दा बढी नकारात्मक कुरा बढी हुन्छन् । सकारात्मक कुरालाई त्यति लिएका हुँदैन जति नकारात्मक कुरालाई लिएका हुन्छन् । मोर्चामा धेरै सकारात्मक कुराहरु छन् तर नकारात्मक कुरामा बढी टिका टिप्पणी भएको हुन्छ । त्यहाँ व्यक्तिगत टकराव पनि देखिन्छ । जुन दल सानो छ त्यसलाई त्यसरी नै स्वीकार गर्नुपर्छ जुन दल ठूलो छ त्यसलाई त्यसरी नै स्वीकार गर्नुपर्छ । कसले कति मत पाए, कति सीट जिते त्यो कुरा छर्लगं छ त्यसमा चित्त दुखाउने कुरा गर्नु हुँदैन । त्यसलाई सकारात्मक रुपमा अगाडि बढाउनु पर्छ । टिक्का टिप्पणीमा शक्तिखेर फाल्नु भन्दा एक अर्कालाई सहयोग गरेर अगाडि बढे त्यो राम्रो हुनेछ र फलदायी पनि हुनेछ ।
एमाओवादी नेतृत्वको सात दलीय, १९ दलीय, ३० दलीय मोर्चाको पटक पटक बैठक बसेको छ तर मधेशी मोर्चाको बैठक बसिरहेको छैन किन ?
–मधेशी मोर्चाका नेताहरुले हामी एमाओवादीकै मोर्चामा छदैछौ त्यहाँ सबै प्रकारका कुराहरु हुन्छन् नै अनि किन मधेशी मोर्चाको बैठक बस्नुपर्यो भन्नुहुन्छ । तर म त्यो कुरामा सहमत छैन । मधेशवादी दलको आफ्नै अस्तित्व छ । आफ्नै पहिचान छन् । मधेशी दल आफैमा पनि एक शक्ति हो । त्यसको आफ्नै निर्णहरु हुनुपर्छ आफ्नै विचारहरु हुनुपर्छ । मेरो विचारमा एमाओवादी नेतृत्वको मोर्चामा कुनै निर्णय हुनुभन्दा पहिले मधेशी मोर्चाको बैठक बसेर त्यसको बारेमा छलफल गरि त्यहाँ गयो भने त्यो राम्रो हुन्छ र त्यसमा अपनत्व हुन्छ । बैठक बसेपछि अन्य धेरै कुरामा छलफल गर्न सकिन्छ जुन अरु मोर्चामा नहुन पनि सक्छ ।
भन्छन्, विजयकुमार गच्छदारको राजनीतिक हाइट देखेर मधेशी मोर्चाका नेताहरु तर्सेका छन् रे के त्यो सही हो ?
–मेरो विचारमा नेताहरु त्यसरी तर्सेका छैनन् । यदि तर्सेकै हो भने त्यसमा तर्सिने कुरा आउँदैन । के विजयकुमार गच्छदार मोर्चाका नेता होइन ? यदि हो भने त्यसमा तर्सिने कुरै आउँदैन । मधेशी मोर्चामा विजय गच्छदार बलियो हुनु भएको मधेशी मोर्चा बलियो हुनु हो, मधेश बलियो हो । मधेशका मुद्दा बलियो हुनु हो । बरु विजयकुमार गच्छदारले देशलाई निकास दिन सक्ने क्षमता राख्छ भने त्यसमा मधेशी मोर्चाका नेता गर्व गर्नुपर्ने हो । यसले गच्छदारको मात्र होइन मधेशी मोर्चाकै हाइटलाई नै बढाउँछ ।
हाम्रो पार्टीका अध्यक्ष विजयकुमार गच्छदारजी जुन प्रस्ताव ल्याउनु भएको थियो त्यसमा पनि कन्फ्यूज थिए । अरु अरु पनि कन्फ्यूज थिए । तर जब पार्टीको बैठकमा उहाँले त्यसको बारेमा कुरा राख्नु भयो अनि पार्टीका सबै साथीहरु स्पष्ट हुनु भयो ।
माघ ८ गते विजयकुमार गच्छदारले जुन प्रस्ताव ल्याउनु भएको थियो त्यो प्रस्तावलाई एमाआवादी नेतृत्वको १९ दलीय मोर्चा र मधेशी मोर्चाले अस्वीकार गरिसके तर भर्खरै सकिएको तपाईको पार्टीको बैठकले त्यसलाई अनुमोदन गरेको छ, हो ?
–हाम्रो पार्टीका अध्यक्ष विजयकुमार गच्छदारजी जुन प्रस्ताव ल्याउनु भएको थियो त्यसमा पनि कन्फ्यूज थिए । अरु अरु पनि कन्फ्यूज थिए । तर जब पार्टीको बैठकमा उहाँले त्यसको बारेमा कुरा राख्नु भयो अनि पार्टीका सबै साथीहरु स्पष्ट हुनु भयो । हाम्रो अध्यक्षले प्रस्ताव राखेपछि जब काँग्रेस र एमालेले जब त्यसलाई समर्थन गरे अनि मात्र शंकाको वातावरण सृजना भयो र नेताहरुले त्यसलाई अस्वीकार गरे । उहाँले सो प्रस्ताव ९ गतेका लागि ल्याउनु भएको थियो । सविधानसभा प्रकृयामा नजओस् भने उद्देश्यले सो प्रस्ताव ल्याउनु भएको थियो तर त्यसलाई अरु दलका नेताहरुले उल्टो बुझेर विरोध गरे ।
के थियो प्रस्तावमा ?
सहमति भइसकेका विषयलाई मस्यौदा समितिमा पठायौ र असहमति रहेका विषयलाई केही समय लिएर छलफल गरी त्यसलाई सहमतिमै टुग्यांउ भने प्रस्ताव थियो । कम से कम जुन विषयमा सहमति भइसकेका छन् त्यो त मस्यौदाका लागि पठाई दियौ र बाँकी असहमतिका विषयमा छलफल गरेर टुग्यांउ तर प्रकृयामा नजाऔं भने चाहना थियो ।
यस्तो प्रस्ताव त काँग्रेस र एमाले पनि थियो नि ?
होइन, काँग्रेस र एमालेभन्दा अलि फरक छ । काँग्रेस र एमालेले टुगिसकेको विषयलाई मस्यौदामा पठाउ र नमिलेका विषयलाई छलफल गरौं । छलफलबाट नटुगिंए त्यसलाई प्रकृयाबाट टुग्यांउ भने थियो तर हाम्रो अध्यक्षको प्रस्तावमा त्यो होइन । उहाँले त प्रकृयाको नामै सुन्न चाहनु भएको छैन । गणतीयमा जाने पक्षमै हुनुहुन्न । मधेशबाट झापा, मोरगं, सुनसरी, कैलाली र कञ्चनपुर यहाँसम्म कि चितवन हटाउने पक्षमा पनि उहाँ हुनुहुन्न अनि कसरी काँग्रेस र एमालेको प्रस्तावसँग मेल खायो । उहाँले सविधानसभा प्रकृयामा मात्र नजाओस् १० गतेको दिन देख्न नपरोस् भन्ने चाहेका थिए । सबै कुरामा सहमतिमै टुग्यांउने पक्षमा हुनुहुन्छ । तर, सविधानसभाका अध्यक्ष सुवास नेम्वागंले जसरी कदम चालेका छन् त्यसले गर्दा सहमतिको बाटो नै बन्द गरिदिनुभएको छ ।
भन्छन्, त्यो प्रस्ताव मोर्चाहरुसँग सल्लाह नै नगरिकन ल्याएको हो रे सही हो ?
वार्ता र छलफलको सिलसिलामा हरेक नेताले आआफ्नो तर्क प्रस्तुत गरेका हुन्छन् आआफ्ना सुझाव दिएका हुन्छन् । बैठकमा पनि सबै कुरा सबैसँग सल्लाह गरेर बोल्नुपर्छ भने छैन । गच्छदारजीले आफ्नो कुरा राख्ने क्रममा सेफ ल्याण्डिगंका लागि सो प्रस्ताव गर्नुभएको हो । तर, यो कुरा सही हो कि यदि मोर्चामा सल्लाह गरेर ल्याएको भए अझै परिपक्क र राम्रो हुन्थ्यो । सबैको सल्लाहबाट ल्याएको भए सायद त्यो कार्यान्वयन हुन्थ्यो कि जस्तो मलाई पनि लाग्छ ।
मुलुक मुठभेडमै गएको हो त ?
सरकारको नेतृत्व गरेका काँग्रेस पार्टीले आफ्नो हैसियत विर्सेर एमालेको छायाँ पार्टीका भएका छन् त्यसले गर्दा झन् राजनीतिक वतावरणलाई विगारेको छ । एमालेले काँग्रेसको काँधमा बन्दुक राखेर बन्दुक चलाउँदैछ ।
सत्ताधारी दलको भूमिका अहिले विपक्षी दल जस्तै हो । उनीहरु विपक्षी दलभन्दा बढी कडा भएर आएका छन् । हामीले गर्नुपर्ने काम उनीहरुले गरिरहेका छन् । वर्ता र सहमतिको कुरा सत्तापक्षले गर्नुपर्ने हो यो संसारले पाएको मान्यता हो । तर उनीहरुले नै वर्तामा आउन चाहेका छैनन् । वार्ता गर्दैनौं भनि सार्वजनिक अभिव्यक्ति दिइरहेका छन् । उनीहरुको अभिव्यक्तिले गर्दा झन कुराहरु विग्रेका छन् । जनतालाई उत्तेजित पार्ने खालका अभिव्यक्तिहरु उनीहरुले दिइरहेका छन् । सरकारको नेतृत्व गरेका काँग्रेस पार्टीले आफ्नो हैसियत विर्सेर एमालेको छायाँ पार्टीका भएका छन् त्यसले गर्दा झन् राजनीतिक वतावरणलाई विगारेको छ । एमालेले काँग्रेसको काँधमा बन्दुक राखेर बन्दुक चलाउँदैछ । देशलाई मुठभेड लैजाने कि के गर्ने त्यसको जिम्मा काँग्रेस र एमालेको पक्षमा रहेको छ ।
सत्ताधारी दलले के कुरामा सुधार गर्नुपर्छ जसले गर्दा यो देश मुठभेडमा नजाओस् ?
–सविधानसभाका अध्यक्ष सुवास नेम्वागंले राजनीतिक वतावरण झन विगारी दिनु भएको छ । उहाँले हठ नगरेर दुई चार दिन अझै पर्खिदिएको भए के हुन्थ्यो । यतिका दिन सविधान बनेन भने केही भएको छैन भने दुई चार दिन पर्खिदैमा के हुन्छ ? हामीले त्यस्तो नगर्न आग्रह पनि गर्यौ तर उहाँले मान्नु भएन र आज मुलुक आन्दोलनतिर गइरहेको छ । देशमा यदि मुठभेड भयो वा केही भयो भने त्यसको जिम्मेवारी सुवास नेम्वागंले लिनुपर्छ । सुवास नेम्वागंले चालेको कदम जबसम्म फिर्ता हुँदैन तबसम्म हामीहरु वार्तामा बस्दैनौ र आन्दोलन अगाडि बढ्छ यो हाम्रो बटमलाइन हो । सौहाद्र वतावरण बनोस् र सहमतिमै सविधान बनोस् भनि हामीले चाहेका छौ ।
सहमति कहिलेसम्म ?
हाम्रो देशमा सबै कुरा एलेभेन्थ आवर (मध्यराती) हुन्छ । समय छँदा के केमा अल्झेर बसेका हुन्छन् जब तोकिएको समय नजिक आउन लाग्दा हतार हतार गरेका हुन्छन् र त्यही कारणले कुरा बिग्रेका हुन्छन् । शुरुदेखि गम्भिर भएर छलफल र वार्ता गरेको भए त्यति खेरै कुरा मिलिसकेको हुन्थ्यो । माघ ८ आउन लाग्दा एकमहिना अघिदेखि नेताहरु गम्भिर रुपले वार्ता र छलफलमा जुटेका थिए । अनि कसरी संम्भव हुन्छ । त्यसैले सहमति भने कुरा सबैले चाहेमा मात्र हुन्छ । त्यहाँ गिभ एण्ड टेकको कुरा हुन्छ । सबैले आफ्नो गोरुको बाह्रै टाका भनेर हुँदैन । केही नकेही सबैले त्याग गर्नुपर्छ । अनि मात्र सहमति हुन्छ । तर मलाई लाग्दैन अब सहमति हुँदैन भनेर । सबै कुरामा लगभग सहमति भइसकेका छन् । संघीयताको विषयमा अलिकति कुरा मिलाउन बाँकी छ । इमान्दारीका साथ त्यसमा लाग्यो भने सहमति हुन्छ तर काँग्रेस र एमाले संघीयता चाहेका छन् कि छैन, सविधानसभा चाहेका छन् कि छैन भन्ने कुरामा नै शंका छ ।
सहमतिको मिलन बिन्दुको के त ?
गिरीजा प्रसाद कोइरालाले स्वायत्त मधेश प्रदेश र आत्मनिर्णयको अधिकारमा सहमति जनाएर हस्ताक्षर गरिसक्नु भएको छ । अन्तरिम सविधानमा पनि सो कुरा उल्लेख भइसकेका छन् तर अहिले आएर दलका नेताहरुले त्यसलाई नमान्दा हामी पनि लचिलो भएर दुई प्रदेशमा झरेका छौ । अरु कति लचिलो हुने ?
हाम्रो मिलन बिन्दु स्पष्ट छ । विगतमा सरकारसँग भएको सम्झौताहरुलाई कार्यान्वयनमा ल्याई दिनु नै हाम्रो मिलन बिन्दु हो । अरु टाढा जानै पर्दैनन् । धेरै कुरा खोज्नै पर्दैनन् । अहिले जे कुरामा झगडा भइरहेका छन् ती सबै कुरामा सहमति भइसकेर हस्ताक्षर समेत भइसकेका छन् त्यही कुरालाई हामीले सविधानमा लिपीबद्ध गर्न भनिरहेका छौ । तर, हामी त्यसमा पनि लचिलो भएका छौ । गिरीजा प्रसाद कोइरालाले स्वायत्त मधेश प्रदेश र आत्मनिर्णयको अधिकारमा सहमति जनाएर हस्ताक्षर गरिसक्नु भएको छ । अन्तरिम सविधानमा पनि सो कुरा उल्लेख भइसकेका छन् तर अहिले आएर दलका नेताहरुले त्यसलाई नमान्दा हामी पनि लचिलो भएर दुई प्रदेशमा झरेका छौ । अरु कति लचिलो हुने । मधेश आन्दोलनले दिएको म्याण्डेटमा पनि हामीले सम्झौता गरेका छौ तर उनीहरु के कुरामा लचिलो भएको छ त्यो पनि देखाउनु पर्यो ।
काँग्रेस र एमालेले पनि दुई प्रदेश मानेका छन् नि ?
होइन, उनीहरुले मानेका छैनन् । दुई प्रदेश भनेर मात्र हुँदैन । झापादेखि कञ्चनपुरसम्म मधेश रहेको छ तर मधेशबाट झापा, सुनसरी, मोरगं, कञ्चनपुर र कैलालीलाई हटाएर प्रदेश बनाउन चाहेका छन् त्यो कसरी सम्भव हुन्छ त्यसलाई मधेशमा दुई प्रदेश कसरी मान्ने ? हामीले त्यसलाई अस्वीकार गरेका छौ । मधेशका जिल्ला पहाडमा कुनै पनि हालतमा गाभ्न दिदैनौ ।

स्रोत: रातोपाटी डटकम

 प्रकाशित मिति:January 31, 2015

मत सर्वेक्षण

तपाईलाई संबिधानको मस्यौदा कस्तो लग्यो ?

Search For MP
Subscribe Newsletter
आउँदा कार्यक्रमहरु