समाचारहरु » असोज ३ मा संविधान

काठमाडौं- नेपालको संविधान, २०७२ असोज ३ गते आइतबार साँझ ५ बजे जारी गरिने भएको छ। संविधानसभा भवनमा हुने समारोहबीच राष्ट्रपति रामवरण यादवले संविधान जारी भएको घोषणा गर्नेछन्।

संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ, प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति सुशील कोइराला, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल तथा प्रमुख सचेतकहरूबीच संविधानसभा भवन, नयाँ बानेश्वरमा सोमबार भएको छलफलले संविधान जारी गर्ने मिति तय गरेको हो।

'प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूको सहमतिमा संविधान जारी गर्ने मिति तय गरिएको हो,' सभाध्यक्ष नेम्वाङले नागरिकसँग भने, 'असोज ३ गते बेलुका राष्ट्रपतिज्यूले संविधानसभा भवनबाटै संविधान जारी भएको घोषणा गर्नुहुनेछ।'

सभाध्यक्ष नेम्वाङले त्यसका लागि मंगलबार बिहान राष्ट्रपति कार्यालय शीतलनिवास पुगेर निमन्त्रणा थमाउने भएका छन्। सभाध्यक्ष नेम्वाङले सोमबार बेलुका नै शीतलनिवास जाने तयारी गरे पनि राष्ट्रपतिको समय अभावका कारण मंगलबार बिहानका लागि भेट तय गरिएको थियो।

सभाध्यक्ष नेम्वाङले यसअघिको भेटमै राष्ट्रपति यादवलाई अब संविधान जारी गर्ने मितिसहित निमन्त्रणाका लागि आउने बाचा गरेका थिए।

संविधान संविधानसभा नियमावलीको नियम ११० बमोजिम सार्वजनिक गरिनेछ। नियम ११० को उपनियम (१) मा 'संविधानसभाबाट पारित भएको संविधानको विधेयकको अन्त्यमा संविधानसभाका प्रत्येक सदस्यले हस्ताक्षर गर्नेछन्' उल्लेख गरिएको छ।

त्यसैगरी उपनियम (२) मा 'सदस्यहरूले हस्ताक्षर गरेको संविधानको विधेयक अध्यक्षद्वारा प्रमाणित भएपछि त्यस्तो विधेयकले संविधानको रूप धारण गर्नेछ,' उल्लेख छ। नियमावलीमा कुनै सदस्यको हस्ताक्षर हुन बाँकी रहेको कारणले मात्र संविधानको विधेयक प्रमाणित गर्न बाधा नपर्ने उल्लेख छ।

उपनियम(३) मा प्रमाणित भएको संविधानमा संविधान प्रारम्भ हुने भनी निर्धारण गरिएको मितिमा संविधानसभाले औपचारिक राष्ट्रिय समारोह आयोजना गरी पारित संविधानको प्रति अध्यक्षले राष्ट्रपतिसमक्ष पेस गर्ने र राष्ट्रपतिले सोही समारोहमा प्रस्तुत संविधानको प्रतिमा अनुसूची–७ बमोजिमको ढाँचामा हस्ताक्षर गरी नेपाली जनतासमक्ष नयाँ संविधान प्रारम्भ भएको घोषणा गर्ने उल्लेख छ।

राष्ट्रपतिले संविधानसभामार्फत जारी गरेको संविधानको एक प्रति संविधानसभा सचिवालयको अभिलेखमा राखी अरू एक–एक प्रति राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्रालयमा पठाइनेसमेत नियमावलीमा उल्लेख छ।

असोज २ गते संविधान जारी गर्ने तयारी गरिएको भए पनि शनिबार सार्वजनिक बिदा परेको र तीज पनि भएकाले प्रक्रिया एक दिन ढिला गरी आइतबार जारी गर्ने तयारी गरिएको थियो।

'असोज ३ गते संविधानसभाको औपचारिक बैठक आह्वान गरिनेछ,' सभाध्यक्ष नेम्वाङले भने, 'संविधानसभाको औपचारिक बैठकलाई सार्वजनिक समारोहका रूपमा भव्य आयोजना गर्ने र त्यही समयमै संविधान जारी गर्ने तयारी गरिएको छ।'

संविधान जारी गर्दा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायका विभिन्न व्यक्तित्वलाई पनि आमन्त्रण गरिने भएको छ।

स्रोत: नागरिकन्युज डटकम

मत सर्वेक्षण

तपाईलाई संबिधानको मस्यौदा कस्तो लग्यो ?

Search For MP
Subscribe Newsletter
आउँदा कार्यक्रमहरु